६ जिल्ला गाँजाको उच्‍च जोखिममा

काठमाडौं : मकवानपुर, उदयपुर, सुनसरी, सिराहा, पर्सा र बारालाई गाँजा उत्पादनका हिसाबले जोखिमपूर्ण जिल्लामा राखिएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ६५ जिल्लामा गरेको अध्ययनले ती ६ जिल्लामा व्यावसायिक रूपमा गाँजा खेती गरिएको देखाएको छ।
 
 यसै आधारमा ती ६ जिल्लालाई जोखिमपूर्ण समूहमा राखिएको हो। ब्युरोले तीन महिना लगाएर (जेठ, असार र साउन) अध्ययन गरेको थियो। 
 
गाँजा फडानी गर्ने क्रममा सम्बन्धित क्षेत्रका बासिन्दा र प्रहरीबीच झडपको स्थिति उत्पन्न भएको ब्युरोका एसएसपी रणबहादुर चन्दले बताए। बर्सेनि गाँजा फडानी गरिए पनि गाँजाखेतीमा कमी नआएको निष्कर्ष ब्युरोको छ। 
 
अध्ययनले मोरङ, महोत्तरी, कपिलवस्तु, धनुषा, सप्तरी, रौतहट, खोटाङ, बागलुङ, धादिङ, बझाङ, बाजुरा, चितवन, रोल्पा, रु कुम, नवलपरासी, सर्लाही, दाङ, बाँके र बर्दियालाई 'गाँजा प्रभावित क्षेत्र' देखाएको छ। 
 
अध्ययनअनुसार 'कम प्रभावित' जिल्लामा कञ्चनपुर, कास्की, धनकुटा, रूपन्देही, कैलाली, कपिलवस्तु, स्याङ्जा, तनहुँ, झापा, दार्चुला, म्याग्दी, सिन्धुपाल्चोक, डँडेल्धुरा, काभ्रे, बर्दिया, सुर्खेत र रसुवा छन्। 
 
 
अध्ययनअनुसार मकवानपुर, उदयपुर, सुनसरी, सिराहा, पर्सा र बारालाई गाँजा उत्पादनका हिसाबले जोखिमपूर्ण जिल्लामा परेका छन्।  बर्सेनि गाँजा फडानी गरिए पनि गाँजाखेतीमा भने कमी आएको छैन।  
 
मकवानपुर त अफिम उत्पादन हुने र यसबाट बढी प्रभावित जिल्लाका रूपमा पनि अगाडि देखिएको छ। अध्ययनले रौतहट, बारा, उदयपुर, पर्सा, सिराहा, सुर्खेत र रुकुमलाई अफिमबाट प्रभावित तथा सल्यानलाई कम प्रभावित जिल्लाका रूपमा देखाएको छ। कारोबारीले गाँजालाई चरेस र अफिमलाई हेरोइन बनाउन प्रयोग गर्दै आएका छन्। उनीहरूले गाँजा उत्पादन क्षेत्रमा गएर बाली नै खरिद गर्दै आएका छन्। 
 
गाँजा सुकाएर चिप्पड बनाएपछि प्रशोधन गरेर रासायनिक पदार्थ मिसाई चरेस बनाउने गरिन्छ। अफिमको चोपलाई सुकाएर प्रशोधन गरी हेरोइन बनाइन्छ। 
 
चन्दका अनुसार प्रहरीले २०७० वैशाखदेखि गत साउनसम्म १८ हजार ४० किलो गाँजा बरामदसँगै ११ जिल्लामा गाँजाखेती नष्ट गरेको छ। सबैभन्दा बढी मकवानपुरमा मात्रै ८७ बिघा दुई कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट गरिएको जानकारी उनले दिए। 
 
यसैगरी काठमाडौंमा ३२ रोपनी, रामेछापमा २५ रोपनी, उदयपुरमा सात सय ४४ रोपनी, सुनसरीमा पाँच बिघा १९ कठ्ठा, सप्तरीमा दुई कठ्ठा, सिराहामा तीन बिघा १४ कठ्ठा, बारामा १४ कठ्ठा, पर्सामा नौ कठ्ठा, चितवनमा ६ कठ्ठा र धनकुटामा एक रोपनी आठ आना दुई पैसा जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ। काठमाडौंबाहेक अन्य जिल्लामा बिक्री गर्ने उद्देश्यले नै यसको खेती लगाउने गरेको पाइएको चन्दले बताए। 
 
सोही अवधिमा मकवानपुरमा २३ बिघा १९ कठ्ठा १० धुर, रौतहटमा पाँच कठ्ठा, बारामा एक बिघा ६ कठ्ठा ९ धुर र पर्सामा पाँच धुर जग्गामा लगाइएको अफिम फडानी गरिएको ब्युरोले जनाएको छ। 
 
नेपालमा उत्पादित गाँजा र त्यसबाट बनाइएको चरेस सडक मार्ग हुँदै भारत र चीनमा पुग्छ। त्यस्तै हवाईमार्ग भएर जापान, हङकङ, थाइल्यान्ड, युरोपलगायत मुलुकमा पनि पुग्ने गरेको छ। 


No comments:

Post a Comment