हस्तान्तरणको एक महिनामै बग्यो पुल


गुलरिया, आश्विन ७ - 
बबई नदीको सानोश्री कुसुम्बाघाटमा निर्मित झोलुङ्गे पुल हस्तान्तरण भएको एक महिना नबित्दै बाढीले बगाएपछि तीन गाविसका करिब ८० हजार बासिन्दालाई आवागमनमा समस्या भएको छ । पुलको मुख्य स्तम्भ नदी कटानमा परेपछि निर्माण पूरा नहुँदा उच्च जोखिममा थियो । स्थानीयले विरोध गरे पनि निर्माण कम्पनी र डोलीडार विभागको लापरवाहीले पुल निर्माण सम्पन्न गरेको भन्दै हस्तान्तरण भएको थियो । हस्तान्तरणको २९ दिनमै गत साउन ३० गते आएको बाढीले पुल बगाएको हो । 

पदनाहा, बनियाभार, मगरागाडीलगायत गाविस र सदरमुकाम आवागमन सहज बनाउन सरकारले उक्त पुल निर्माण गरेको हो । रुकुमको एमपी कन्सट्रक्सन कम्पनीले १ करोड ५९ लाखको लागतमा उक्त पुल ०६९ सालमा निर्माणको ठेक्का लिएको हो । डोलीडार विभागअन्तर्गत सस्टेन्सन बि्रज डिभिजन कार्यालय ललितपुरबाट दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको उक्त कम्पनीले गत वर्ष नै पुल निर्माण गर्नुपर्ने सम्झौता थियो । सामुदायिक वन भएका कारण विवाद मिलाउँदा ढिला भई ढिलो निर्माण भएको थियो ।

एमाले नेता पूर्ण शर्माले नदी कटान भएको जोखिमस्थानमा जबर्जस्ती निर्माण गरिएकोले स्थानीयले अहिले सास्ती भोग्नुपरेको बताए । 'नदी नियन्त्रण हुन नसक्ने स्थानमा जबर्जस्ती गिट्टी, ढुङ्गा भरेर हस्तान्तरण भयो,' उनले भने, 'दुबैतिरबाट नदीले कटान गरिसकेकोले पटकपटक विरोधका बाबजुत निर्माण गरियो । जुन दुर्भाग्यपूर्ण थियो ।' पुल वरिपरि १ सय २८ मिटर तटबन्ध गरिनुपर्ने निर्माण कम्पनीका प्रतिनिीध निबन्ध वलीले बताए । तटबन्ध गर्दागर्दै बाढी आएको उल्लेख गर्दै उनले भने, 'वर्षेनी नदी कटान हुँदै आएको क्षेत्र भएकाले पुल बचाउन सकिएन ।' 

नदी नियन्त्रण पक्की नभएसम्म कटानले पुलको भविष्य खतरा भएको जानकारी पटक-पटक सम्बन्धित निकायलाई दिंदा पनि कसैले वास्ता नगरेको स्थानीय शंकर थारूले बताए । २ सय ८० दशमलव ६० मिटर लामो झलुङ्गे पुल असार मसान्तमा सम्पन्न गरि आवागमन खुला गरिएको थियो ।

No comments:

Post a Comment